नेपाल सुपर लिगको उपाधिका लागि आज ललितपुर र धनगढी भिड्दै
काठमाडौं । पुस १४, नेपाल सुपर लिगको उपाधिका लागि आज ललितपुर सिटी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे फाइनल खेल सुरु हुनेछ ।
दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । धनगढी लगातार दोस्रो पटक फाइनल खेल्दै छ । अघिल्लो संस्करण काठमाडौं रेजर्ससँग उपाधि गुमाएको धनगढीले यो पटक भने सोही गल्ती नदोहोर्याउने बताएको छ । प्रशिक्षक युगल किशोर राईले प्रतिस्पर्धात्मक खेल हुने बताएका छन् ।
धनगढीले पहिलो क्वालिफरयरमा लिगको शीर्ष स्थानमा रहेको पोखरा थन्डर्सलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । सो खेलमा धनगढीले पोखराको दुई पटकको अग्रता उल्ट्याउँदै दुई दुई गोलको बराबरी गरेको थियो । फाइनल अघि देवेन्द्र तामाङको टोलीले चार दिन आरामको मौका पाएको छ ।
यता ललितपुरले भने चौथो स्थानमा रहेर संघर्षपुर्ण ढङ्गले प्ले अफमा स्थान बनाएको थियो । तर उसले पछिल्ला दुई खेलमा शानदार खेल प्रदर्शन गर्यो । एलिमिनेटरमा ललितपुरले काठमाडौं माथि तीन शून्य गोलको एकपक्षीय जित हात पारेको थियो । दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई १ सय २० मिनेटमा दुई एक गोलले पराजित गरेको हो ।
लगातार खेल खेल्नु परेकाले ललितपुरका खेलाडीले आराम भने पाएका छैनन् । विदेशी प्रशिक्षक इयान एन्ड्रिउ गिलानले सुपर लिगको क्लाइमेक्सनै फाइनल भएकाले जित्नुको विकल्प नरहेको प्रतिक्रिया दिए ।
अनन्त तामाङ सामु आफ्नो कप्तानीमा लगातार दोस्रो उपाधि जित्ने अवसर छ । यसअघि उनको नेतृत्वमा चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनेको थियो । लिग चरणमा यी दुई टिमले गोल रहित बराबरी खेलेका थिए ।
सन्तुलित टिम बनाएका ललितपुर र धनगढी समर्थकलाई रंगशाला पुग्नसमेत प्रेरित गर्न सफल छन्। तिनै दुई टिमले दोस्रो संस्करणको उपाधिका लागि आज खेल्दा दशरथ रङ्गशालामा ठूलो सङ्ख्यामा समर्थकको अपेक्षा गरिएको छ। यो वर्षको लिग विजेताले ७० लाख पुरस्कार पाउनेछ। उपविजेताले २० लाख पाउनेछ ।