राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकर बिच भेटवार्ता

काठमाडौँ । पुस १९, राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज काठमाडौं आएलगत्तै विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहान काठमाडौं आएका हुन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेको बताएका थिए ।