थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं । फागुन ११, थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।
प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् ।
मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो ।