प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट
काठमाण्डौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कूल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गरेको हो। प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम रातभरमा पूरा गरी शुक्रबार दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने जानकारी दिइएको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् । त्यस्तै प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट, संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् । प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । त्यस्तै प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् । देश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट पाएका छन् ।
त्यस्तै प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएकोमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मतको संख्या निकै बढी रहेको बताइएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १.५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै राजनीतिक दललाई उम्मेदवारको बन्दसूचीको लागि पेश गरेको समावेशीको आधार मिलाएर एक साताभित्र केन्द्रीय कार्यसमितिको वैठकबाट नाम अनुमोदन गराएर पठाउन समयावधि प्रदान गर्नेछ ।
उक्त समयावधिभित्र आएको नामलाई सच्याउन वा मिलाउन चाहने राजनीतिक दललाई थप तीन दिनको समय प्रदान गरिनेछ । त्यसपछि बन्दसूचीमा पेश भएका क्रमअनुसारका आधारमा राजनीतिक दलले प्राप्त गरेका सिट र विजयी उम्मेद्वारको नामसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्नेछ । साथै, तत् प्रदेशमा राजनीतिक दलका उम्मेदवार विजयी भएको जानकारी प्रदेश प्रमुखलाई पनि आयोगले पठाउनेछ । समानुपातिक निर्वाचनमा प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ विभिन्न संख्यामा राजनीतिक दलले भाग लिएका थिए ।