‘ग्रिन हाइड्रोजन’बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल

काठमाडौं । चैत १८, नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ ।
काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा.विराजसिंह थापाले जानकारी दिए ।
विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।
स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । थापाका अनुसार ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य कारभन्दा छुट्टै हुन्छ ।
विदेशबाट ल्याइएको यस्तो कारमा नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब यसलाई व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना पुष्टि भएको उनले जानकारी दिए ।