मेयर बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।

मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता तय भएको छ । यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । मेयर र फेस्टिभल निर्देशकसँग द्विपक्षीय भेटवार्ता हुने भएपनि एजेन्डा भने तय भइसकेको छैन ।

७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ । यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै फिल्ममा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्