चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा दोस्रोपटक यान अवतरण

सहयात्रा टिभी

काठमाडौं । जेठ २२, चीनले चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा दोस्रोपटक अन्तरिक्ष यान अवतरण गराएर इतिहास रचेको छ ।

चीनले पृथ्वीबाट देख्न नसकिने उक्त चन्द्र सतहमा दोस्रोपटक आफ्नो मानवरहित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको हो । उसले पहिलोपटक सन् २०१९ मा आफ्नो चांग इ ४ यानलाई त्यहाँ अवतरण गराएको थियो ।

अहिलेसम्म यो अज्ञात स्थानमा अन्य कुनै पनि देशले आफ्नो यान पठाउने कोसिस गरेका छैनन् ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चिनियाँ समय अनुसार आइतबार बिहान ६:२३ मा चांग इ ६ अन्तरीक्षयान चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको हो ।

गत मे ३ मा प्रक्षेपण गरिएको उक्त मिसनको लक्ष्य उक्त क्षेत्रबाट दुर्लभ चट्टान तथा माटो जम्मा गर्नु रहेको छ ।

यो मिसनले चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा विशाल खाडलभित्रका केही सबैभन्दा पुराना चट्टानबाट सामग्रीहरू बाहिर निकाल्ने काम गर्नेछ।

चीनले चन्द्रमाको सतहबाट नमूना संकलन गर्नका लागि अन्तरिक्ष यान पठाएको यो दोस्रोपटक हो । सन् २०२० मा चांग ई ५ अन्तरिक्षयानले चन्द्रमाको ओसनस प्रोसेलरम नामक क्षेत्रबाट करिब १.७ केजी सामग्री संकलन गरेर ल्याएको थियो ।

चीनले यो दशकमा तीनवटा थप मानवरहित यानहरु चन्द्रमामा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको सहयोगबाट चीनले चन्द्रमामा पानीको खोजी गरी त्यहाँ एउटा स्थानीय बेस स्थापित गर्न चाहन्छ ।

उता अमेरिकाको लक्ष्य पनि चन्द्रमामा अन्तरिक्षयात्री पठाउनु रहेको छ । यसका लागि नासाले सन् २०२६ मा आफ्नो आर्टेमिस थ्री मिसन प्रक्षेपण गर्नेछ ।

– बीबीसीबाट

 

प्रकाशित : 4 June, 2024

प्रतिक्रिया दिनुहोस्