महिनावारीको समयमा भएको दुखाईले हृदयघातसम्म हुन सक्ने
महिलाहरुका लागि महिनावारीको समयमा अधिकांशलाई असह्य दुखाई हुने गर्दछ । कतिपय महिला त महिनावारीका समयमा सामन्य उठवस गर्न पनि सक्दैनन् । भारतमा भने महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले लोकसभामा महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो । कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग सम्बन्धित पहिलो विधेयक हो ।
विधेयकमा सरकारी तथा निजी कार्यालयमा काम गर्ने महिलालाई महिनामा २ दिन महिनावारी बिदा दिनु पर्ने प्रस्ताव गरिएको छ । महिनावारी हुँदा महिलालाई पीडा हुने हुँदा उनीहरुलाई आराम दिनुपर्नेमा सांसद एरिङको जोड छ । सांसद एरिङले आफ्नो घर परिवारका महिलाको दुःख देखेर नै यो विधेयक संसदमा ल्याएको बताएकी छन् । सो विधेयक संसदबाट पारित भएमा भारतका कामकाजी महिलाले महिनामा दुई दिन महिनावारी बिदा पाउने छन् ।
महिनावारी भएको समयमा महिलालाई मानसिक तथा शारीरिक दुवै किसिमका पीडा हुने भएकाले सो विधेयक आवश्यक भएको सांसद एरिङको भनाई छ । युनिभर्सिटी कलेज अफ् लण्डनका रिप्रोडक्टिभ हेल्थका प्रोफेसर जोन गिलबाडले गरेको एउटा अनुसन्धानका अनुसार कतिपय अवस्थामा महिनावारीको समयमा भएको दुखाईले हृदयघातसम्म हुन सक्ने पनि बताइएको छ ।