छिटो विवाह गर्न र सन्तान जन्माउन युवाहरुलाई प्रधानमन्त्रीको आग्रह

सहयात्रा टिभी

काठमाडौं । साउन २९, प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् ।

उनले युवाले फ्युचर जेनेरसन (भावी पुस्ता) बारे कुरा गर्ने गरेको भन्दै प्रश्न गरे,‘अनि पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि बालबच्चा चाहियो । विदआउट चिल्ड्रेन कसरी हुन्छ फ्युचर ?’

उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गरे । आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए ।

उनले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको समेत बताए । धेरैलाई रोजगारी दिन सानासाना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको दाबी पनि गरे ।

हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा २ प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

 

प्रकाशित : 13 August, 2024

प्रतिक्रिया दिनुहोस्