बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनलाई

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनद्धारा सम्झौतामा हस्ताक्षर भएको हो ।

अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालय अन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

केन्द्र अध्यक्ष पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे ।  मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सुरुआतमा १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण प्राप्त भएपछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए ।

 

प्रकाशित : 21 August, 2024

प्रतिक्रिया दिनुहोस्