सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख जरिवाना
काठमाडौं । भदौ १३, काठमाडौं महानगरपालिकाले सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
श्रीकेश तेल उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेखसमेत नपाइएको हो ।
महानगरले श्रीकेशको थप कारबाहीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।