इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरुद्धमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ ।

तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् । हिजो शान्तिपूर्ण रुपमा आन्दोलन शुरु भए पनि प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध भएका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतन्याहु र उहाँको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप प्रदर्शनकारीको छ ।

गएको वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो । यसैबीच इजरायलको ट्रेड युनियनले हमाससँगको सम्झौताका लागि सरकारलाई दबाब दिन भन्दै आज देशव्यापी हडताल गरेको छ ।

 

प्रकाशित : 2 September, 2024

प्रतिक्रिया दिनुहोस्