केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित

सहयात्रा टिभी

काठमाडौं । असोज ४, प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो ।

प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको अमेरिकामात्र हो ।

नेपाल, भारत, बेलायतसहित ४३ देश भने कसैको पनि पक्ष–विपक्षमा नलागी तटस्थ बसेका थिए । नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएको छ । नेपालले यी दुवै देशको समस्या समाधानमा जोड दिँदै आएको छ ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यहुदी देश इजरायललाई मान्यता दिने नेपाल एसियाकै पहिलो देश थियो ।

नेपाली विद्यार्थीहरु कृषि विषय पढ्दै कमाउँदै गर्नका लागि इजरायल जाने गरेका छन् । यसै क्रममा गत ७ अक्टुबरमा प्यालेस्टिनी भूमिबाट इजरायलमा प्रवेश गरेका हमासका लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशी अहिलेसम्म पनि बेपत्ता छन् ।

इजरायलको हमला जारी रहेकाले प्यालेस्टिनी भूमिमा राहत सामग्री, खाद्यान्न, औषधि, पानी र इन्धन आपूर्तिमा भयानक संकट पैदा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्