नेपालबाट बंगलादेश विद्युत् बिक्रीको बाटो औपचारिक रुपमा खुल्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १७, नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ ।

बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए ।

 

 

प्रकाशित : 3 October, 2024

प्रतिक्रिया दिनुहोस्