दसैंमा तीन फिल्मको भिडन्त : कसले कति पायो शोज ?

सहयात्रा टिभी

काठमाडौं । असोज २३, दसैंको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।

सोमबारबाट यी तीनै फिल्मको मल्टिप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भइसकेको छ । मल्टिप्लेक्सहरुमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शोज पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शोज दिएको छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।

देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शोज पाउने सम्भावना दिएको छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शोज तय हुने छ ।

त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ ।

त्यसैगरी जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शोज पाउने भएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शोज दिएको छ । गत हप्ताको बिहीबार (घटस्थापना)बाट प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’ले भने फूलपातीको दिन देशभर ५० हाराहारी सोज ‘होल्ड’ गर्ने देखिन्छ ।

फूलपातीको भोलिपल्ट (शुक्रबार) बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिग्रा’ रिलिज हुन लागेकाले यसलाई पनि मल्टिप्लेक्सहरुले राम्रो शोज उपलब्ध गराएका छन् । यसपालिको दशैंमा दर्शकलाई आफ्नो रोजाई अनुसारको फिल्म हेर्न पाउने अवसर छ । अब व्यापारमा कुन फिल्मले बाजी मार्छन्, त्यो हेर्न बाँकी छ ।

प्रकाशित : 9 October, 2024

प्रतिक्रिया दिनुहोस्