मलेसिया सरकारले कामदारको तलब बढाएर १७ सय रिङ्गेट पुर्‍यायो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो ।

प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।

‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’

नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।

मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुवाती तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।

प्रकाशित : 19 October, 2024

प्रतिक्रिया दिनुहोस्