विपदमा ज्यान गुमाएका २३८का परिवारले पाए राहत
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ६, गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो ।
विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए ।
अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ । विपद्मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।