ट्रम्प प्रशासनको विशेष पदमा एलन मस्क नियुक्त
काठमाडौं । कात्तिक २८, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् ।
यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।
ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक रामास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।
नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।
नियुक्तिको जानकारी पाएपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हामी नरम रुपमा प्रस्तुत हुने छैनौं ।’
ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियम कानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् ।