टर्किएले इजरायली राष्ट्रपतिको हवाईजहाजलाई आफ्नो रुट प्रयोग गर्न नदिएको खुलासा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, एजेन्सी -टर्किएले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलेको छ ।

राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न दिन इजरायलले आग्रह गरेको थियो । तर टर्किएले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इजरायली सरकारले हर्जोगको विमानलाई नोभेम्बर ११ तारिखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन (कोप १९) मा सहभागिताका लागि टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो ।

जसलाई टर्किएका अधिकारीहरूले अस्वीकार गरेका खबरमा उल्लेख छ । टाइम्स अफ इजरायलले भने सुरक्षाको कारणले गर्दा हर्जोगले अस्ति अजरबैजानको आफ्नो भ्रमण रद्द गरेको दाबी गरेको छ ।

प्यालेस्टाइनको मुद्दालाई लिएर टर्किए र इजरायलबीचको सम्बन्ध सन् २०१० देखि तनावग्रस्त छ । टर्किए प्यालेस्टाइन र गाजाको पक्षमा रहेको छ भने इजरायले टर्किएका कदमको विरोध गर्दै आएको छ ।

पछिल्लो समय इजरायलले गाजामा गरिरहेको नरसंहारको टर्किएले चर्को विरोध गर्दै इजरायलसँगको ९० प्रतिशत व्यापार पनि स्थगित गरेको छ ।

प्रकाशित : 18 November, 2024

प्रतिक्रिया दिनुहोस्