स्पेन सरकारद्धारा आप्रवासी नयाँ नीति अनुमोदन
काठमाडौं । मंसिर ५, स्पेन सरकारद्धारा आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ ।
मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।
विगत ६ महिनादेखि चर्चामा रहेको आप्रवासन सम्बन्धी नीति अन्तत स्पेन सरकारले अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।
श्रम शक्ति विस्तार गर्न खोजिरहेको स्पेनले त्यस्तो निर्णय गर्न लागेको आप्रवासन मन्त्री एल्माले बताइन् । ‘स्पेनले खुल्ला र समृद्ध देश बन्ने कि बन्द र गरिब बन्ने भन्ने विकल्पको बीच रोजाइ गर्नुपर्दा हामीले पहिलो विकल्प रोजेका छौं,’ मन्त्री साइजले भनिन् ।
सामाजिक सुरक्षा प्रणालीलाई कायम राख्न स्पेनलाई वार्षिक करिब २ लाख ५० हजारदेखि तीन लाखको संख्यामा कर तिर्ने विदेशी कामदारहरूको आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।
पेद्रो सान्चेजको नेतृत्वमा रहेको सरकार आप्रवासीहरूप्रति मुख्यतः सहानुभूतिपूर्ण देखिएको छ । जबकि पोर्चुगल, इटाली र जर्मनीजस्ता अन्य युरोपेली देशहरूले सीमा नियन्त्रणमा कडाइ गर्न खोजिरहेका छन् ।
उनका अनुसार स्पेनको आप्रवासी नीति खुकुलो भएपछि अन्य युरोपेली मुलुकबाट स्पेन आउने नेपालीको चाप झन् बढ्ने देखिएको छ ।
आप्रवासी नीति सम्बन्धी चासो राख्दै आएका पौडेलले सरकारले नयाँ नियम अनुमोदन गरे तापनि व्यावहारिक रुपमा लागु हुन अझै केही समय लाग्नसक्ने बताएका छन् ।