ट्रम्पले सपथलगत्तै १०० कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । माघ ६, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्रवेश गरेको दिन आफ्नो दोस्रो कार्यकालको सुरु गर्दै उनले केही महत्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेका हुन् ।

यी कार्यकारी आदेशहरू मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले पहिलो दिनमै ‘रेकर्ड’ तोड्नेगरी धेरै संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना रहेको बताएका छन्।

कार्यकारी आदेश भनेको राष्ट्रपतिद्वारा एकतर्फी रूपमा जारी गरिने आदेश हो, जुन कानुन बराबर हुन्छ । कानुन निर्माण प्रक्रियाको विपरीत कार्यकारी आदेशहरूका लागि कांग्रेसको अनुमोदन आवश्यक पर्दैन। कांग्रेसले यी आदेशलाई उल्टाउन नसके पनि अदालतमा भने चुनौती दिन सकिन्छ ।

ट्रम्पका निकट सहयोगी स्टेफन मिलरले एक समाचार च्यानललाई भनेअनुसार यी कार्यकारी आदेशहरू मुख्यतः पाँच विषयमा केन्द्रित हुनेछन् । दक्षिणी सीमा सिल गर्ने, व्यापक निर्वासन (डिपोर्टेसन), महिलाको खेलमा ट्रान्सजेन्डर व्यक्तिहरूको सहभागिता रोक्ने, ऊर्जा अन्वेषणमा लगाइएका प्रतिबन्धहरू हटाउने र सरकारको कार्यक्षमतामा सुधार गर्ने विषय त्यसमा समावेश हुने छन् ।

 

प्रकाशित : 19 January, 2025

प्रतिक्रिया दिनुहोस्