प्रधानमन्त्री ओलीले युवाहरूलाई गलत संगतमा नलाग्न आग्रह
काठमाडौं । माघ २१, प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे ।
‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । संगठन ठिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ ।
त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर ।’
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए । काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदी उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समयको मूल्यवान हुने बताए ।
‘जीन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान छ,’ प्रधानमन्त्री ओलीले भने ।