प्रचण्डले प्रतिनिधिसभामा बोल्ने क्रममा प्रधानमन्त्री ओली खोजे
काठमाडौं । माघ २४, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे ।
ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए ।
सामान्यतयाः विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटारमै रहेको उच्च स्रोतले बतायो ।
अब प्रचण्डले देउवालाई धन्यवादसहित सत्तापक्षभित्र अन्तविर्रोध सिर्जना हुनसक्ने विन्दुहरु पहिल्याउन थाले । उनले ओलीले नेतृत्व गरेको कांग्रेस–एमाले सरकारका ६ महिनाको मूल्यांकन गरे ।
केही तथ्यांकहरु राख्दै आफू प्रधानमन्त्री छँदाभन्दा देश पछिल्ला छ महिनामा तल्लो अवस्थामा गएको तर्क गरे । उनले रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायतलाई ध्रुवीकरणमा समेट्ने खालको भाषा भाषणमा प्रयोग गरे ।
अनि एमाले र यसका प्रमुख नेता ओलीको ‘नियत’माथि आफू विश्वस्त नै रहेकाले उनलाई सोध्ने कुरा केही नभएको तर्क दिँदै देउवा र कांग्रेसतर्फ पाँच प्रश्नका निशाना साँधे । याद रहोस्, यसअघिका मन्तव्यहरुमा उनी कांग्रेसलाई लक्षित गर्दै खासै केही भन्दैनथे ।