नेसपा नयाँ शक्तिको पहिलो महाधिवेशनमा अनलाइनबाट पनि मतदान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ ३०, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।
भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।
नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।
नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई बताउँछिन् ।
उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् । निर्वाचन समितिका संयोजक राम कुमार पुरीका अनुसार बुधबार भएको मतदानको गणना सुरु हुने तयारीमा छ ।
महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।