माओवादीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं ।फागुन १, तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।
जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् ।
दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएकोसमेत प्रचण्डले दाबी गरेका छन् । उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’
दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् ।
०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो । ०८० पुस १३ गते जारी भएको आदेशले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो ।