एमाले निकट कर्मचारी संगठनको नयाँ नेतृत्व चुन्ने विषय पेचिलो बन्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन १, नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व चुनावबाट चुन्ने कि सहमतिबाट भन्ने विषय पेचिलो बन्दै गएको छ ।

अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालको दाबी छ । गौतम समर्थक चुनाव गराउनुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा नेतृत्व चुन्नुपर्ने पक्षमा छन् ।

दुवैले निजामती कर्मचारीहरुको पेशागत हकहितको संरक्षण, जनमुखी प्रशासन र ट्रेड युनियन अधिकार स्थापित गर्ने आफ्नो मुख्य एजेण्डा अघि सारेका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा महाधिवेशनको उदघाटन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

सोही दिन बेलुकाबाट बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा अध्यक्ष लेखनाथ कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आज सुरु हुने बन्दसत्रमा ती प्रतिवेदनमाथि छलफल गरी पास गरिसकेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने नेपाल निजामती कर्मचारी संगठनका नेता आरसी अधिकारीले बताए ।

उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीले सहमतिमा नेतृत्व चयन गर्न भने पनि संगठनका प्रतिनिधिहरु त्यसलाई सहजै मान्ने पक्षमा नरहेको एक पदाधिकारीले बताए ।

 

प्रकाशित : 13 February, 2025

प्रतिक्रिया दिनुहोस्