८४मा कांग्रेस र एमाले गठबन्धन गरेर चुनाव लड्न प्रचण्डको चुनौती

सहयात्रा टिभी

काठमाडौँ । फागुन ९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।

प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे । ‘हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।

”संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा रु यो महत्वपूर्ण प्रश्न हो,’ उनले भने ।

प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’

प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको जिकिर गर्दै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’

प्रकाशित : 21 February, 2025

प्रतिक्रिया दिनुहोस्