गोल्ड कार्ड नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने ट्रम्पको उद्घोष

काठमाडौँ । फागुन १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ।
सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।
ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।
‘के तपाईंले रूसी अर्बपतिहरूलाई पनि यो कार्ड बिक्री गर्ने विचार गर्नुभएको छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, सम्भव छ। म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल व्यक्ति हुन् ।’
ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन्। उनले ‘ट्रम्प गोल्ड कार्ड’ लाई हालको ईबी(५ भिसा कार्यक्रमको विकल्प भनेका छन् ।
ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । यस पहलबाट राष्ट्रिय ऋण छिट्टै तिर्न सकिने उनले दाबी गरेका छन् ।