काठमाडौँ लगायत धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

सहयात्रा टिभी

काठमाडौँ । फागुन १६, पश्चिमी वायु सक्रिय हुँदा काठमाडौँ लगायत धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका जिल्लामा पनि वर्षा भएको छ ।

मौसमविद् कँडेलअनुसार काठमाण्डौ उपत्यकासहित देशभर अहिले बादल लागेको छ । दिउँसो पछि काठमाण्डौमा पनि पानी पर्ने सम्भावना छ । तर पश्चिममा भन्दा कम पानी पर्ने उहाँको भनाइ छ ।

महाशाखाका अनुसार भारतको जम्मू काश्मीर,हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।

यसले मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य मात्र असर पर्ने मौसमविदले बताएका छन् । मौसमविदका अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । भोलि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

 

प्रकाशित : 28 February, 2025

प्रतिक्रिया दिनुहोस्