अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौँ । फागुन १६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज भेटवार्ता हुँदैछ ।
अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौताका लागि दुई नेताबीच आज सहमतिमा हस्ताक्षर हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुई देशबीच खनिज सम्झौता सहमति भएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिका जानुभएको छ । युक्रेनले यसअघि नै अमेरिकासँगको प्रमुख खनिज सम्झौताका शर्तहरू स्वीकार गरिसकेको जनाएको छ । यसलाई दुवै देशले सकारात्मक परिणामका रूपमा लिएका खबरमा उल्लेख छ ।
अमेरिकाले पाँच खर्ब अमेरिकी डलर बराबरको युक्रेनी प्राकृतिक स्रोत साधनमा आफ्नो अधिकार दाबी गरेको छ । त्यसको बदलामा अमेरिकाले युद्धग्रस्त युक्रेनको प्रमुख चासो रहेको सुरक्षा ग्यारेन्टी भने सुनिश्चितता गरेको छैन ।
युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथियम तथा टाइटानियमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनियम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको दाबी छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले आफ्नो नियन्त्रणमा लिएको छ ।