सरकारले ल्याएका ६ अध्यादेशको आयु अब ३० दिन बाँकी

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशको आयु अब ३० दिन बाँकी रहेको छ ।

संसद अधिवेशन सुरु भएपछि अध्यादेशको आयु गणना हुन थाल्दछ । संसद अधिवेशन नरहेका बेला जारी भएका अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन सभामा प्रस्तुत गर्नुपर्छ ।

यो संवैधानिक व्यवस्था हो । यसअनुसार अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश अधिवेशन सुरु भएपछिको पहिलो दिन गत माघ १८ गते दुवै सभामा प्रस्तुत भएका थिए ।

अध्यादेश दुवै सदनमा प्रस्तुत भएको आइतबार ३० दिन पुगेको छ । अब अध्यादेशको आयु ३० दिन बाँकी छ ।

अध्यादेशले गरेका नयाँ व्यवस्था र संशोधित व्यवस्थाले निरन्तरता पाउन प्रतिस्थापन विधेयक आएर पास भएर ऐनमा रुपान्तरित हुनुपर्छ । प्रतिस्थापन विधेयक आउन दुवै सदनबाट अध्यादेश स्वीकृत हुनुपर्छ । विगत ३० दिनमा अध्यादेश दुवै सदनबाट स्वीकृत हुन सकेको छैन ।

बाँकी ३० दिनभित्र अध्यादेश स्वीकृत हुने, प्रतिस्थापन विधेयक आउने, दुवै सभाबाट प्रतिस्थापन विधेयक पास हुने र ऐनमा रुपान्तरित भइसक्नुपर्छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला बाँकी ३० दिन भित्र अध्यादेशका सम्बन्धमा सबै कार्य संसदले गर्ने बताउँछन् । उनका अनुसार यही फागुन २१ वा २२ गते दुवै सदनमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

 

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्