पनौती नगरपालिकामा सञ्चालित तीनवटा क्रसर उद्योग बन्द

काठमाडौँ । फागुन २३, काभ्रेको पनौती नगरपालिकाले वडा नं २ र १२ मा सञ्चालित तीनवटा क्रसर उद्योग बन्द गराएको छ ।
बन्द गराइएका उद्योगहरूमा पनौती–२ को डाइमण्ड स्टोन माइनिङ प्रा.लि. तथा पनौती–१२ का भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. र दिपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. छन् ।
खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन् अवधि समाप्त भइसकेको र पटक–पटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि विहीबार ती उद्योग बन्द गराइएको पनौती नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।
उद्योग बन्द गराउन नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा अध्यक्ष २ का पुरूषोत्तम अधिकारी र १२ का जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा लगायत कर्मचारी तथा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़का लगायत प्रहरीको टोली पुगेको थियो ।
जिल्ला अनुगमन समितिको गत माघ ९ मा भएको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो ।
त्यसपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठुलो धनजनको क्षति भएको जनगुनासो आएकाले अवैध रूपमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।
गत माघ ३ गते जिल्लाका सबै पालिकालाई गैरकानुनी रुपमा संचालित ढुंगाखानी र क्रसरहरु बन्द गर्न पत्राचार भए पनि कार्यान्वयन भएको थिएन । पनौती नगरपालिकाले अनुगमन गरेर बन्द गराए पनि अन्य पालिकाहरुमा खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।