आजदेखि भारतले दिउँसो मात्रै बिजुली दिने, लोडसेडिङको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । चैत ३ , आजदेखि भारतले नेपालतर्फ सोलार आवर (घाम लाग्ने समय)मा मात्रै विद्युत् दिनेछ । सोलार आवरमा मात्रै बिजुली लोडसेडिङको जोखिम बढेको छ ।

शनिबारसम्म बेलुका ५ देखि ९ बजेबाहेकको अवस्थामा बिजुली दिइरहेको भारतले आइतबारदेखि सोलार आवरमा मात्रै बिजुली दिनेछ । यसले उच्च माग हुने समयमा लोडसेडिङको जोखिम रहनेछ ।

अघिल्ला वर्षहरूमा पनि उच्च माग हुने समयमा प्राधिकरणले उद्योग सञ्चालन नगर्न सूचना निकाल्ने गरेको थियो । यसवर्ष भने ब्याकअपको रूपमा रहेको माथिल्लो तामाकोसी आयोजना पूर्ण क्षमतामा चल्न सकेको छैन ।

४५६ मेगावाटको सञ्चालनमा आएको देशकै ठूलो आयोजनामा असोज ११ बाढीले क्षति पुर्‍याएको थियो । माथिल्लो तामाकोसीबाट हिउँदको समयमा ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्थ्यो ।

नेपालमा मनसुन सुरू हुने सरदर मिति जुन १३ हो । मनसुन नभित्रिएसम्म बिजुलीको माग व्यवस्थापनमा निकै सकस हुने प्राधिकरण बताउँछ ।

नेपाल प्राधिकरणले अहिले भारतबाट तीन प्रकारले बिजुली आयात गर्ने गरेको छ । भारतीय ऊर्जा बजार (आईईएक्स), बिहारको पावर एक्सचेन्ज कमिटी (पीईसी) तथा पावर पर्चेज एग्रिमेन्ट (पीपीए) गरी तीन प्रकारबाट आयात गर्ने गरेको छ ।

पीईसीको मूल्य बढाएको विषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले पटक–पटक स्पष्टीकरण लिइरहेको छ । मार्चसम्म रहेको पीईसीको म्याद थप नभए उपत्यकामा समेत लोडसेडिङ हुने प्राधिकरण जनाउँछ ।

प्रकाशित : 16 March, 2025

प्रतिक्रिया दिनुहोस्