कामीरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३१ औँ पटक सगरमाथाको सफल आरोहण

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै आज (मंगलबार) ३१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यससँगै उनले सगरमाथामा सबैभन्दा धेरै पटक पाइला टेक्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार ५५ वर्षीय कामीरिताले आज (मंगलबार)बिहान करिब ४ बजे सगरमाथाको शिखर (८८४८.८६ मिटर) मा पाइला टेकेका हुन् । छाङ दावाले सामाजिक सञ्जालमा लेखेका छन्, “एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण। इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई।”

गत वर्ष (२०८१ साल) कामीरिताले वैशाख ३० गते २९ औँ पटक र त्यसको १० दिनपछि जेठ ९ गते ३० औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

यसपटक उनी लेफ्टिनेन्ट कर्णेल मनोज जोशीको नेतृत्वमा रहेको २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा सहभागी भएका थिए । काठमाडौंमा श्रीमती र दुई सन्तानसहित बस्दै आएका कामीरिताले २४ वर्षको उमेरमा विक्रम संवत् २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

“एभरेष्ट टुडे” लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि कामीरिताको यो ऐतिहासिक उपलब्धिलाई प्रमुखताका साथ स्थान दिएका छन्।

प्रकाशित : 27 May, 2025

प्रतिक्रिया दिनुहोस्