दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, ३२ जना धरौटीमा रिहा

काठमाडौं । जेठ ३०, काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका प्रसाईंसहित सात जनालाई थुनामै राख्न आदेश दिएको हो ।
सोही घटनामा पक्राउ परेका अन्य ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले बिहीबार दिनभर भएको थुनछेक बहसपश्चात् मध्यरातमा उक्त आदेश जारी गरेको हो। पुर्पक्षका लागि कारागार चलान हुनेहरूमा दुर्गा प्रसाईं, तारा राजावादी भनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।
गत चैत १५ गते प्रसाईंको नेतृत्वमा ‘राजावादी’ समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा केही निजी घर, सरकारी सवारी साधन र जडिबुटी प्रशोधन केन्द्रमा तोडफोड तथा आगजनी भएको थियो। यस्तै दुई जनाको मृत्यु भएको थियो । यही घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो।