कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा) को अन्त्येष्टि

काठमाडौं । असार २१, लोकप्रिय हास्य टेलिशृंखला ‘मेरी बास्सै’ बाट ‘अप्सरा आमा’ का रूपमा चर्चित कलाकार लक्ष्मी श्रेष्ठको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।
दाहसंस्कारअघि उनको पार्थिव शरीरलाई सम्मानस्वरूप नेपालको झन्डा ओढाइएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला (विमली) तथा गायिका राधिका हमाललगायत कलाकर्मीहरू आर्यघाट पुगेका थिए ।
स्वर्गीय श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’ र ‘हिजो आजका कुरा’ जस्ता टेलिशृंखलाबाट आफ्नो अभिनय यात्रा थालेकी थिइन् । यद्यपि, ‘मेरी बास्सै’ मा सीताराम कट्टेल (धुर्मुस) को पात्र ‘खड्का जी’ को श्रीमती ‘अप्सरा’ को भूमिकाले उनलाई सर्वाधिक चर्चा र लोकप्रियता दिलाएको थियो ।
पछिल्लो केही वर्षदेखि क्यान्सरसँग जुधिरहेकी उनी स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अन्तिम ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् । उनको निधनले नेपाली कला क्षेत्रले एक कुशल र हँसिली कलाकार गुमाएको छ ।