सटर बन्द गरेर सुनचाँदी व्यवसायी सडकमा, देशभर कारोबार ठप्प

काठमाडौं । असार २३, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिराजन्य गरगहनामा लगाएको नयाँ करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन रूपमा कारोबार बन्द गरी आन्दोलन सुरु गरेका छन्।
बजेटमा सुनका गरगहनामा २ प्रतिशत विलासी कर र हिरा तथा अन्य बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेपछि व्यवसायीहरू रुष्ट बनेका हुन्। यो व्यवस्था खारेज गर्नुपर्ने मागसहित उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।
आन्दोलनकै कारण बजारको मूल्य निर्धारण गर्ने आधिकारिक निकाय नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत बिहीबारदेखि नयाँ दरभाउ सार्वजनिक गर्न बन्द गरेको छ, जसले गर्दा बजारमा अनिश्चितता छाएको छ।