बलिउड अभिनेता चंकी पाण्डेले गरे पशुपतिनाथको दर्शन

सहयात्रा टिभी

काठमाडौं । साउन १२, बलिउड अभिनेता चंकी पाण्डेले पवित्र श्रावण महिनाको अवसर पारेर आइतबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। आफ्नो सामाजिक सञ्जालमा पूजाआजा गरिरहेको तस्बिर सेयर गर्दै उनले साउन महिनामा भगवान शिवको दर्शन गर्न पाउनुलाई सौभाग्यको रूपमा व्याख्या गरेका छन्।

‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई धेरै भाग्यमानी महसुस गरेको छु,’ उनले लेखेका छन्।

हिन्दु पात्रो अनुसार साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ। यही कारणले गर्दा साउनभरि पशुपतिनाथ मन्दिरमा नेपाल र भारतका हजारौं हिन्दु धर्मावलम्बीहरूको भीड लाग्ने गर्दछ।

सन् १९८० र ९० को दशकमा मुख्य अभिनेताका रूपमा चर्चा कमाएका चंकी पाण्डेको वास्तविक नाम सुयश पाण्डे हो। केही समय बलिउडबाट टाढा रहेर बंगलादेशी सिनेमामा समेत आफ्नो बलियो उपस्थिति जनाएका उनले पछिल्लो समय ‘हाउसफुल’ सिरिजको ‘आखिरी पास्ता’ जस्ता चरित्र भूमिकाबाट पुनः चर्चा कमाएका छन्। उनकी छोरी अनन्या पाण्डे पनि हाल बलिउडकी चर्चित अभिनेत्री हुन्।

विभिन्न चरित्र भूमिकामार्फत बलिउडमा सक्रिय रहँदै आएका पाण्डे पछिल्लो समय पनि विभिन्न फिल्म परियोजनामा व्यस्त छन्। उनको अभिनय रहेको फिल्म ‘सन अफ सरदार २’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ ।

प्रकाशित : 28 July, 2025

प्रतिक्रिया दिनुहोस्