प्रकाशको ‘सोल्टिनी’ पछि हट्यो, असोज ३ मा ‘जारी २’ लाई एकल मैदान

सहयात्रा टिभी

काठमाडौं । साउन २१, प्रकाश सपूत अभिनित चलचित्र ‘सोल्टिनी’ पूर्वनिर्धारित मिति असोज ३ मा प्रदर्शन नहुने भएको छ। यो मितिमा दयाहाङ राई स्टारर ‘जारी २’ सँग हुने भनिएको प्रतीक्षित भिडन्त अब टरेको छ।

निर्माण पक्षका अनुसार, चलचित्रको प्रदर्शन मिति पछि सारिएको हो। एक सदस्यले जानकारी दिएअनुसार, ‘सोल्टिनी’ अब दशैँ र तिहारको बीचमा रिलिज हुने सम्भावना छ। “तिहारभन्दा एक साता अगाडि प्रदर्शन गर्ने गरी तयारी भइरहेको छ, हामी छिट्टै नयाँ मिति घोषणा गर्नेछौं,” स्रोतले भन्यो। चलचित्रको फस्टलुक र गीत सार्वजनिक भइसके पनि निर्माण टिमले भिडन्तबाट पछि हट्ने निर्णय गरेको हो।

यो वर्ष प्रकाशका लागि निकै व्यस्त रहनेछ। दशैँमा उनका दुई चलचित्र ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन्। ती दुवै मल्टीस्टारर चलचित्र भएकाले प्रकाशका लागि ‘सोल्टिनी’ विशेष मानिएको छ। अर्जुन सुवेदीको निर्देशनमा बनेको यस चलचित्रमा प्रकाशको काँधमा मुख्य जिम्मेवारी छ, जहाँ उनको जोडी परीक्षा लिम्बूसँग बाँधिएको छ।

‘सोल्टिनी’ पछि हटेसँगै अब संविधान दिवसको अवसर पारेर असोज ३ मा ‘जारी २’ एक्लै प्रदर्शन हुने भएको छ। यसले गर्दा दयाहाङ राई अभिनित यो चलचित्रले बक्स अफिसमा एकल प्रदर्शनको फाइदा उठाउने पक्का छ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्