सिक्वेल चलचित्र ‘जारी-२’ को टिजर सार्वजनिक

काठमाडौं । साउन २६, गत वर्षको सर्वाधिक सफल चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। यो चलचित्र आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ। सार्वजनिक टिजरले लिम्बु समुदायको मौलिक संस्कृति र पहिचानको प्रतीक च्याब्रुङ बाजालाई केन्द्रमा राखेर कथा भन्ने संकेत गर्छ।
करिब साढे दुई मिनेट लामो टिजर ‘च्याब्रुङ नाच्न नजान्ने लिम्बु त नाङ्गै पहाडजस्तो हो’ भन्ने संवादबाट सुरु हुन्छ। यसले चलचित्र सांस्कृतिक पहिचानको खोजी, पारिवारिक सम्बन्ध र सामाजिक आरोह–अवरोहको कथामा केन्द्रित रहने स्पष्ट पार्छ। च्याब्रुङलाई लिम्बु समुदायको सुख-दुःख र खुसीको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। चलचित्रमा पुरानै ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरका साथमा विजय बरालको मुख्य भूमिका रहेको छ। यसका साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ।
‘जारी’ २०८० सालको ब्लकबस्टर चलचित्र हो, जसले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गर्दै कीर्तिमान राखेको थियो। त्यही सफलताका कारण ‘जारी-२’ लाई यस वर्षको सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र मानिएको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ।