भदौरे रौनक : हलमा आजदेखि तीन नयाँ नेपाली फिल्मको प्रतिस्पर्धा

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, असार र साउन महिनाको सुस्ततालाई तोड्दै भदौ महिनाले नेपाली बक्स अफिसमा नयाँ उत्साह थपेको छ। यो महिना प्रदर्शनको सूचीमा रहेका आठ फिल्ममध्ये आज शुक्रबारदेखि तीन नयाँ फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तु र प्रस्तुतिसहित आएका यी तीन फिल्मले दर्शकलाई हलसम्म तान्ने दौड सुरु गरेका छन्।

प्रारम्भिक चरणमा हलहरूले ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ प्रति बढी विश्वास देखाएका छन्। केदार घिमिरे अभिनित ‘माग्ने राजा’ले देशभर १४५ भन्दा बढी शो पाएको छ भने विजय बराल र केकी अधिकारी जस्ता कलाकार रहेको ‘जनै हराएको मान्छे’ले ११५ भन्दा बढी शो पाएको छ। तुलनात्मक रूपमा आशान्त शर्मा निर्देशित ‘ताराहरू’ले ३० शो पाएको छ। यद्यपि, फिल्मको अन्तिम सफलता प्रारम्भिक शो संख्याले नभई दर्शकको प्रतिक्रिया अर्थात् ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ।

फिल्महरूको विशेषता:

माग्ने राजा : हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। ‘सुतेर उठेको पैसामा’ गीतबाट चर्चामा रहेको फिल्मले एक सामान्य मानिसको धनी बन्ने सपना र त्यसको यात्रालाई पर्दामा उतारेको छ। फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई र सारदा गिरीको पनि अभिनय छ।

जनै हराएको मान्छे : डेब्यु निर्देशक हिमाल न्यौपानेले पारिवारिक सम्बन्धको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेका छन्। बाबु-छोरा र दिदी-भाइ बीचको सम्बन्धलाई केन्द्रमा राखेको यस फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली जस्ता शक्तिशाली कलाकारहरूको जमघट छ।

ताराहरू : कलाकार आशान्त शर्माको डेब्यु निर्देशन रहेको यो फिल्मले जीवन र आशाको कथा भन्छ। जीवनबाट निराश भएर आत्महत्याको सोच बनाएको एक किशोरलाई उसका साथीहरूले कसरी जीवनको उज्यालोतर्फ फर्काउँछन् भन्ने संवेदनशील विषयमा फिल्म आधारित छ। फिल्ममा आशान्त स्वयं मुख्य भूमिकामा छन् भने मेनुका प्रधान, कुन्दुन शाक्य लगायतले अभिनय गरेका छन्।

फरक-फरक स्वादका यी तीन फिल्मले दर्शकको मन जित्न कस्तो प्रदर्शन गर्छन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित : 22 August, 2025

प्रतिक्रिया दिनुहोस्