सिन्धुपाल्चोककी गंगा सोनाम बनिन् ‘नेपाल आइडल’ सिजन ६ को विजेता

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, लोकप्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति सम्पन्न भव्य ग्राण्ड फिनालेमा दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गर्दै उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारेकी हुन्।

विजेता घोषित भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित ‘नेपाल आइडल’को प्रतिष्ठित ट्रफी हात पारिन्। उनलाई संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी हस्तान्तरण गरेका थिए।

प्रतिस्पर्धामा बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। त्यसैगरी, चौथो स्थानमा रहेकी अभिनय खाती र पाँचौँ स्थानका मृनल मानन्धरले जनही १ लाख रुपैयाँ पुरस्कार जिते।

यस सिजनमा निर्णायकको भूमिकामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए भने कार्यक्रमलाई आसिफ शाहले सञ्चालन गरेका थिए।

गंगा ‘नेपाल आइडल’ को उपाधि जित्ने छैटौँ विजेता हुन्। यसअघिका सिजनहरूमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए।

प्रकाशित : 1 September, 2025

प्रतिक्रिया दिनुहोस्