निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची नै प्रभावित

काठमाडौं । भदौ १६, आइतबार राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । तर, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पास नै गर्न सकेन ।
त्यसपछि सोमबारको कार्यसूची नै प्रभावित भयो । सभाध्यक्ष नारायण दाहालले निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी दिए ।
सोमबार पेश हुन नसकेको विधेयकको प्रतिवेदन मंगलबार सभामा अगाडि बढाउने तयारी रहेको छ । यसका लागि भोलि दिउँसो सवा १ बजेका लागि राष्ट्रियसभाको बैठक राखिएको छ ।
विधायन व्यवस्थापन समितिको सचिवालयका अनुसार राष्ट्रियसभाले निजामती सेवा विधेयक पारित गर्नुपर्ने समयाअवधि भोलि नै अन्तिम दिन हो । किनभने, प्रतिनिधिसभाबाट पास भएर प्राप्त भएको विधेयक राष्ट्रियसभाले दुई महिनाभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यो विधेयक १५ असार २०८२ मा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पठाएको थियो । यसअनुसार विधेयक भोलिसम्म पास गरिसक्नुपर्ने बाध्यतामा राष्ट्रियसभामा छ । अन्यथा प्रतिनिधिसभाले विधेयक अगाडि बढाउन सक्छ । यस्तोमा प्रतिनिधिसभाले निर्णय गर्न सक्नेछ ।
विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहाल संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताउँछिन् । आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेन ।
बिहान संसदीय समितिबाट विधेयक पारित गर्ने र दिउँसो सभामा लैजाने तयारी समिति सचिवालयको छ ।