खाद्यले यो दसैंमा खसी-बोका र च्याङ्ग्रा नबेच्ने

सहयात्रा टिभी

काठमाडौं । असोज १०, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री वितरण नगर्ने निर्णय गरेको छ। हालैका आन्दोलनका कारण यातायात अवरुद्ध र पशु आपूर्तिमा असुरक्षा बढेपछि कम्पनीले यस्तो निर्णय लिएको हो।

कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीका अनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको सचिवस्तरीय बैठकले खरिद–बिक्री प्रक्रिया रोक्ने निर्णय गरेको हो। कम्पनीले दसैँका लागि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने प्रक्रिया सुरु गरे पनि पछिल्ला दिनमा देखिएको अनिश्चितताले आपूर्ति व्यवस्थापनमा चुनौती थपिएकाले बिक्री वितरण कार्यक्रम नै रद्द गरिएको हो।

यो निर्णयसँगै खसी–बोकाका लागि अनलाइनमार्फत बुकिङ गरेका उपभोक्ताको रकम फिर्ता गर्न थालिएको कम्पनीले जनाएको छ। कम्पनीले हरेक वर्ष स्वास्थ्य परीक्षण गरी सस्तो मूल्यमा खसी–बोका उपलब्ध गराउँदै आएको थियो, जसले बजारमा मूल्य नियन्त्रण गर्न र एकाधिकार तोड्न महत्त्वपूर्ण भूमिका खेल्थ्यो। यस वर्ष कम्पनीको अनुपस्थितिले बजारमा खसी–बोकाको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

दसैँको समयमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी–बोकाको अतिरिक्त माग हुने गर्छ। यद्यपि, खसी–बोका बिक्री नगरिए पनि कम्पनीले सञ्चालन गरेको सुपथ मूल्य पसल भने छठ पर्वसम्म जारी रहनेछ।

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्