जेनजी समूहले लियो भोटेकोशी जलविद्युतको १० प्रतिशत सेयर

सहयात्रा टिभी

काठमाडौं । असोज २७, स्थानीय एक समूहले गरेको आन्दोलनका कारण एक महिनादेखि बन्द रहेको सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ। आयोजना सञ्चालक भोटेकोशी पावर कम्पनी र आन्दोलनरत स्थानीय समूहबीच १० प्रतिशत सेयर लेनदेन गर्ने सम्झौता भएसँगै आइतबारदेखि आयोजनाको काम सुचारु भएको हो।

‘जेनजी आन्दोलन’ को नाममा ‘भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ले आयोजनाको १० प्रतिशत सेयर माग गर्दै गत भदौ महिनादेखि आयोजनाको काम ठप्प पारेको थियो। लामो समयको अवरोधपछि आइतबार दुई पक्षबीच सहमति भएको हो।

सहमति पत्रमा भोटेकोशी पावर कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य र जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेयरमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयको लगानीमा स्थापना भएको पब्लिक कम्पनीलाई दिनेछ।

यसअघि राजनीतिक दलहरूको रोहबरमा २०७१ सालमा भएको सम्झौतामा स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति भएको थियो। तर, जेनजी समूहले उक्त सहमति अपुग भएको भन्दै १० प्रतिशत सेयर निःशुल्क पाउनुपर्ने माग राख्दै आयोजना बन्द गराएको थियो। कम्पनीले १० प्रतिशत सेयर दिन तयार भए पनि निःशुल्क दिन नसकिने अडान लिएपछि विवाद लम्बिएको थियो।

आइतबार भएको नयाँ सम्झौताले पुरानो ६ प्रतिशतको सहमतिलाई परिमार्जन गर्दै थप ४ प्रतिशत सेयर दिने निर्णय गरेको छ, जसअनुसार अब स्थानीयले कुल १० प्रतिशत सेयर पाउनेछन्। यो सम्झौतासँगै एक महिनादेखि जारी विवाद अन्त्य भएको छ र आयोजनाले आफ्नो उत्पादन र अन्य काम पुनः थालेको छ।

प्रकाशित : 13 October, 2025

प्रतिक्रिया दिनुहोस्