हुलास स्टिलले तिर्यो विद्युत् प्राधिकरणको बक्यौताको पहिलो किस्ता

काठमाडौं । असोज ३१, हुलास स्टिल उद्योगले नेपाल विद्युत् प्राधिकरणको बक्यौता बाफतको पहिलो किस्ताको रकम तिरेको छ ।
हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उसले सो रकम तिर्न २८ किस्ताको सुविधा लिएको थियो ।
त्यसमध्ये पहिलो किस्ताको रकम तिरेको हो । ‘हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,’ प्राधिकरण स्रोतले भन्यो।