अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेज्मेन्ट
सहयात्रा टिभी
काठमाडौं । मंसिर २ , अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेज्मेन्ट गरेकी छिन् । अभिनेत्री शाहले आफू र आफ्ना भावि श्रीमानको आधा अनुहार देखिने तस्विर पोस्ट गर्दै आफूले इन्गेज्मेन्ट गरेको कुराको जानकारी दिएकी छिन् ।

अभिनेत्री शाहले साइँली औँलामा लगाएको इन्गेज्मेन्ट रिङ देखाउँदै पोस्ट गरेको उक्त तस्विरले उनको इन्गेज्मेन्ट भइसकेको थाहा हुन्छ । त्यस्तै उनले तस्विरसँगै एउटा लामो पोस्ट पनि लेखेकी छिन् ।
उनी लेख्छिन्– ‘जसका लागि मैले प्रार्थना गरेँ, मेरो भाषा बुझ्ने, शान्त र कोमल आत्मा— शब्दहरूले कहिल्यै समेट्न नसक्ने गरी म तपाईंप्रति कृतज्ञ छु । तपाईँका आँखाले मेरा आँखासँग जुन जादू मिसाउँछन्, त्यो मौन वार्तालाप जसले धेरै कुरा भन्छ । फेरि नफुत्कियोस् भनेर मेरो हात मजबुतसँग समाइदिएकोमा धन्यवाद । तपाईँले मलाई माया गर्न सजिलो हुन्छ भन्ने सम्झाउनु भयो । मेरो मुटुसम्म पुगेर दयालु, करुणामय र कोमल बन्दै, ‘सधैँ र सदाको लागि’ हुन्छ भनिदिएकोमा धन्यवाद ।’
अभिनेत्री शाहले आफ्नो इन्गेज्मेन्टको बारेमा जानकारी गराएता पनि आफ्ना हुनेवाला श्रीमानको नाम तथा पहिचान भने प्रष्ट पारेकी छैनन् । यसका साथै उनले विवाह कहिले भन्ने कुरा पनि बताएकी छैनन् ।
साम्राज्ञीले इन्स्टा पोस्टमार्फत दिएको जानकारी अनुसार उनले १७ नोभेम्बर अर्थात हिजो मंसिर १ गते इन्गेज्मेन्ट गरेकी हुन् । उनको भावि श्रीमानको नाम अंग्रेजी अक्षरको ‘बि’ बाट प्रारम्भ हुन्छ । खैर, अन्य जे भएता पनि अहिलेलाई अभिनेत्री साम्राज्ञी शाहलाई इन्गेज भएकोमा कलाकर्मीको तर्फबाट वधाइ तथा शुभकामना ।


