छोरीको उपचार र रंगशालाको ऋणको बोझ बिसाउन अमेरिका पुगेका धुर्मुसको ‘बकपत्र’
सहयात्रा टिभी
काठमाडौं । मंसिर २६ ,चर्चित हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफू ऋण तिर्न नसकेर अमेरिका पलायन भएको भन्ने खबरहरूको खण्डन गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्पष्टीकरण दिँदै उनले आफू भागेको नभई छोरीको उपचार र पारिवारिक परिस्थितिका कारण अमेरिका पुगेको बताएका हुन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रम लागेको १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्व र सरकारी असहयोगका कारण नेपालमा काम गर्ने वातावरण नभएपछि आफूहरू विवश भएको उनको भनाइ छ। नेपालमा कलाकारिता गरेर बाँच्न सक्ने आधार गुमेको र चरम आर्थिक संकट परेको भन्दै उनले तीन वर्षअघि नै नेपालबाटै अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन दिएको खुलाएका छन्। विशिष्ट क्षमता भएका व्यक्तिहरूलाई दिइने उक्त स्थायी बसोबास अनुमति पत्र (ग्रीनकार्ड) आफूहरूले गत वर्ष नै प्राप्त गरेको भए पनि भिसा लाग्दा खुसी हुनुको साटो भक्कानिएर रोनुपरेको धुर्मुसले उल्लेख गरेका छन्।
धुर्मुसका अनुसार अहिले अमेरिका जानुको मुख्य कारण उनकी छोरीको खुट्टाको उपचार हो। उक्त ग्रीनकार्डमार्फत कम आय भएका परिवारका बालबालिकाको निःशुल्क उपचार हुने भएकाले छोरीको स्वास्थ्य सुरक्षाका लागि यो कदम चाल्नुपरेको उनले बताएका छन्। यसअघि तनावकै कारण पत्नी कुञ्जना घिमिरे (सुन्तली) को गर्भ खेर गएको दुखद् अनुभव सुनाउँदै उनले अब एक मात्र सन्तानको स्वास्थ्यमा जोखिम मोल्न नचाहेको उल्लेख गरेका छन्। अमेरिका आउने खर्च जुटाउनका लागि समेत कुञ्जनाले आफ्ना गरगहना बेच्नुपरेको उनले जानकारी दिएका छन्।
रंगशाला निर्माणको उल्झनले आफूहरूलाई मानसिक र आर्थिक रूपमा थर्जर बनाएको धुर्मुसको गुनासो छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाइ पाए पनि समाजमा ‘ठग’ को बिल्ला भिराइएकोमा उनले दुखेसो पोखेका छन्। जनस्तरको आग्रह र तत्कालीन प्रधानमन्त्री तथा दलका नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माण थालिएको भए पनि अहिले १८ करोडभन्दा बढीको दायित्व एक्लै बोक्नुपरेको उनले बताए। भरतपुर महानगरपालिकाले स्वामित्व लिँदा दायित्व फरफारक गर्ने सहमति भए पनि कार्यान्वयन नभएको र सरकारी प्रक्रियागत झमेलाका कारण विनियोजित बजेट समेत फ्रिज हुँदा आफूहरू मारमा परेको उनको भनाइ छ। राज्यले सम्पत्ति सकार्ने तर दायित्व नसकार्ने प्रवृत्तिलाई उनले विडम्बनापूर्ण भनेका छन्।
हाल अमेरिकाको नर्थ क्यारोलिना राज्यमा आफन्तको घरमा बसिरहेका धुर्मुसले आफूहरूले अमेरिकामा कुनै व्यवसाय सुरु नगरेको र लगानी पनि नगरेको स्पष्ट पारेका छन्। छोरीको उपचार सकिएलगत्तै नेपाल फर्किने प्रतिबद्धता जनाउँदै उनले आफूहरू पलायन नभएको जिकिर गरेका छन्। रंगशालाको समस्या समाधान भएर नेपालमै निर्धक्कसँग कलाकारिता गरेर बाँच्न पाउने वातावरण सिर्जना गरिदिन उनले राज्य र सरोकारवालासँग अपिल समेत गरेका छन्। यसै वर्ष चलचित्र ‘लाज शरणम्’ मार्फत पर्दामा देखिएका उनी निकट भविष्यमा ‘पाँच पाण्डव’ नामक चलचित्रको तयारीमा रहेको समेत बुझिएको छ।


