नारायणगढ–हेटौँडा र मुग्लिन–आँबुखैरेनी सडक विस्तारको तयारी तीव्र, ठेक्का लगाइँदै

सहयात्रा टिभी

काठमाडौं । पुस ६, एसियाली विकास बैंक (एडिबी) अन्तर्गतको सडक आयोजना निर्देशनालयले रणनीतिक महत्वका दुई सडक खण्डको स्तरोन्नतिका लागि प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । निर्देशनालयले आगामी फागुनको दोस्रो साताभित्र नारायणगढ–हेटौँडा र मुग्लिन–आँबुखैरेनी सडक खण्डको ठेक्का आह्वान गर्ने तयारी गरेको हो ।

ठेक्का प्रक्रिया अघि बढाउन आवश्यक डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अहिले धमाधम भइरहेको छ । नारायणगढ–हेटौँडा खण्डको डिजाइन स्वीकृतिका लागि बुधबार सडक विभागसँग छलफल हुने तय भएको छ । डिजाइन स्वीकृत भएलगत्तै र इआइएको विषय वन तथा वातावरण मन्त्रालयबाट टुंगो लागेपछि निर्माण प्रक्रियाका लागि बाटो खुल्नेछ । निर्देशनालयले दुई साताभित्र आन्तरिक छलफल सकेर इआइए स्वीकृतिका लागि मन्त्रालयमा पठाउने योजना बनाएको छ ।

सडक विस्तारको तयारीस्वरूप आयोजनाले प्रभावित क्षेत्रमा नयाँ संरचना नबनाउन सर्वसाधारणलाई सचेत गराएको छ । गत मंसिर १९ गते नै सूचना जारी गर्दै निर्देशनालयले सडक सीमाभित्र पर्ने स्थानमा नयाँ घर–टहरा निर्माण नगर्न आग्रह गरेको हो । सडक विस्तारका क्रममा भत्किने पुराना संरचनाका लागि भने आवश्यक क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको छ ।

स्तरोन्नतिपछि यी सडकखण्ड आधुनिक र सुविधायुक्त हुनेछन् । बस्ती र बसोबास भएको क्षेत्रमा चार लेनको मुख्य सडकका साथै दायाँ–बायाँ एक–एक लेनको सर्भिस लेन निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने थप दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ तथा सवारी आवागमनका लागि छुट्टाछुट्टै पुलसमेत निर्माण गरेर सडकलाई सुरक्षित र फराकिलो बनाइने योजना रहेको छ ।

प्रकाशित : 21 December, 2025

प्रतिक्रिया दिनुहोस्