९ सय करोड कमाउने २०२५ को पहिलो भारतीय फिल्म बन्यो ‘धुरन्धर’

सहयात्रा टिभी

काठमाडौं । पुस ९, बलिउड अभिनेता रणवीर सिंह अभिनित चलचित्र ‘धुरन्धर’ ले बक्सअफिसमा ऐतिहासिक सफलता हासिल गर्दै सन् २०२५ मा विश्वव्यापी रूपमा ९०० करोड भारुभन्दा बढी कमाउने पहिलो भारतीय चलचित्रको रेकर्ड बनाएको छ । प्रदर्शनको तेस्रो सातामा पनि बक्सअफिसमा देखिएको स्थिर व्यापार र दर्शकको क्रेजलाई हेर्दा यसले चाँडै विश्व बक्सअफिसमा १००० करोडको आँकडा पार गर्ने निश्चित देखिएको छ ।

भारतीय बक्सअफिसमा मात्रै मंगलबारसम्म फिल्मले ६१९.३० करोड भारु नेट कमाइ गरिसकेको छ । तेस्रो साताको शुक्रबार २३.७० करोड, शनिबार ३५.७० करोड, आइतबार ४०.३० करोड, सोमबार १९.७० करोड र मंगलबार २०.४० करोड भारु कमाउँदै फिल्मले आफ्नो बलियो पकड कायमै राखेको छ । व्यापार विश्लेषक तरण आदर्शले फिल्म भारतीय बजारमा ७०० करोड क्लबतर्फ अघि बढेको र क्रिसमसको समयमा कमाइमा अझै उछाल आउने प्रक्षेपण गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा चलाएको जासुसी अप्रेसनको कथामा आधारित यस फिल्ममा रणवीर सिंह भारतीय जासुसको भूमिकामा छन् भने अक्षय खन्नाले निर्वाह गरेको पाकिस्तानी राजनीतिज्ञ रहमान डकैतको भूमिकालाई दर्शकले निकै रुचाएका छन् । उत्तर अमेरिकामा राम्रो कमाइ गरिरहेको यो फिल्मलाई पाकिस्तान विरोधी विषयवस्तु समेटिएको भन्दै खाडी मुलुकहरूले भने प्रतिबन्ध लगाएका छन् । यसैबीच, फिल्मको अपार सफलतासँगै यसको दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : 24 December, 2025

प्रतिक्रिया दिनुहोस्